पृष्ठभूमि

Background Title

कोशी प्रदेश नेपालको पूर्वी भू-भागमा हिमाल, पहाड र तराईसम्म फैलिएको छ । यस प्रदेशमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्लाहरू पर्दछन् । यस प्रदेशको सिमाना पूर्वमा भारतको पश्चिम बंगाल, पश्चिममा प्रदेश नं २ र प्रदेश नं ३, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको बिहार राज्य पर्दछ । यो प्रदेश २६ डिग्री २७ मिनेट १५ सेकण्ड उत्तरी अक्षांश र ९७ डिग्री १६ मिनेट ४७ सेकण्ड पूर्वी देशान्तरमा अवस्थित छ । यस प्रदेशको कूल क्षेत्रफल २५,९०५ वर्ग कि.मि. तथा कूल जनसंख्या ४५,३४,९४३ रहेको छ । मोरङ जिल्लाको विराटनगर यस प्रदेशको राजधानी हो ।यो प्रदेशमा जातीय, धार्मिक तथा भाषिक विविधता रहेको पाइन्छ । यहाँ मुख्य रूपमा ब्राह्मण, क्षेत्री, राई, लिम्बु, नेवार, थारू, लेप्चा, तामाङ, गुरूङ, शेर्पा, मेचे, कोचे, यादव, राजवंशी, ल्होमी सिङ्सा, लगायतका विभिन्न जातिहरूको बसोबास रहेको छ । यहाँका मानिसहरूले हिन्दू, बौद्ध, किरात, मुस्लिम, इसाई लगायतका धर्महरू मान्ने गरेको पाइन्छ । नेपाली, मैथिली, लिम्बु, वान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, बाहिङ, वाम्बुले, याम्फु, लोहरूङ, याक्खा, सुनुवार, गुरूङ, तामाङ, शेर्पा, लेप्चा, मगर, थारू, ल्होमी सिङ्सा लगायतका विभिन्न भाषाहरू यहाँ प्रमुख रूपमा बोलीचालीमा रहेका छन् ।यो प्रदेश सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिमश्रृङ्खला जस्ता प्राकृतिक सम्पदाले सुशोभित रहेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु, यलुङ्काङ आदि हिमालहरू यस प्रदेशमा रहेका छन् । यी उच्च हिमालय पर्वतहरूले मित्रराष्ट्र चीनसँगको प्राकृतिक सीमाको काम पनि गरेको छ । यस प्रदेशमा इलामको श्रीअन्तु डाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चेबजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका विभिन्न पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंक्षिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरूण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षण, कञ्चनजङ्घा संरक्षण क्षेत्र यस प्रदेशमा रहेका छन् । नेपालकै अग्लो ह्यातुङ झरना, टोड्के र पकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् |यस प्रदेशमा असङ्ख्य मठ, मन्दिर, पाटीपौवा, गुम्बा, मस्जिदहरू रहेका छन् । प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमा ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सतासी धाम, सुनसरीको बराहक्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, संखुवासभाको शिवधारा, खोटाङको हलेसी महादेव लगायत बराहपोखरी, साल्पापोखरी, दुधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि यस प्रदेशमा रहेका छन् ।यस प्रदेशमा पुवाखोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् । त्यस्तै यस प्रदेशमा पर्ने अरूण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ । जलश्रोतमा सम्पन्न यस प्रदेशमा अरूण, तमोर, दुधकोशी, मेची, कन्काई र त्रियुगा, लगायतका नदीहरू रहेका छन् ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल, कोशी प्रदेश, नेपाल.